संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चार माध्यमसँग प्रेस काउन्सिलः रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा ध्यान दिन पत्रकारलाई अध्यक्ष बस्नेतको आग्रह

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले सुरु गरेको सञ्चार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पु¥याउने उल्लेख गर्नुभयो ।

नेपालको एकमात्र सरकार समाचार एजेन्सी राससका धेरै जसो समाचार सञ्चार माध्यमले खरिद नगरिकन चोर्ने प्रवृत्ति निरुत्साहित गर्न सम्बन्धित सञ्चार माध्यमले पनि अनुगमन संयन्त्र बनाउन सक्ने उहाँको सुझाव थियो । प्रेस काउन्सिलले नियमित सञ्चार माध्यमको अनुगमन, आचारसंहिताको पालना तथा कपि पेस्टको समस्या निरुत्साहनका लागि काम गरिरहेको जानकारी दिँदै उहाँले पछिल्लो युट्युब लगायतका सामाजिक सञ्जालको व्यवस्थापनमा समेत काम भइरहेको उल्लेख गर्नुभयो ।

छलफलमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारको विषयवस्तु जनमुखी र उत्प्रेरक बनाउने सन्दर्भमा समेत काउन्सिलले विशेष कार्यक्रम गर्नुपर्ने उल्लेख गर्नुभयो । राससका समाचारलाई गुणस्तरीय बनाउन शैलीपुस्तिकाको प्रयोग तथा स्वअनुगमन र स्वनियमन गर्ने गरिएको उहाँको भनाइ थियो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको छलफल कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रधान सम्पादक उत्तम सिलवाल, प्रमुख समाचारदाता एकराज पाठक लगायतले समाचार लेखन र सम्प्रेषणका विभिन्न समस्याबारे जानकारी गराउनुभएको थियो ।

यसैबिच काउन्सिलका अध्यक्ष बस्नेतले राष्ट्रिय समाचार समितिमा जारी ‘गणतन्त्रका उपलब्धीः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी समेत अवलोकन गर्नुभएको छ । उहाँले मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्दैछ भन्ने कुरा समाचार र तस्बिरका माध्यमबाट आम जनतालाई सुसूचित गर्न सकिने विषय भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया :