संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार धमलालाई सचेत, आचारसंहिता कक्षामा सहभागी

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले आचारसंहिता उल्लङ्घन गरेको निष्कर्षसहित सचेत गराएको छ । आउँदा दिनमा पेशागत आचरणसहित आचारसंहिता पालना गर्नका लागि काउन्सिलले शुक्रबार सचेत गराएको हो । विमानस्थलमा जबर्जस्ती प्रवेश गरी लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत गैर पेशागत आचरण देखाएको भन्दै काउन्सिलले यस्तो कारबाही गरेको हो । साथै काउन्सिलले धमलालाई पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा समेत शुक्रबार सहभागी गराएको छ ।

दुई दिन अघि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले धमलालाई सचेत गराउने र अभिमुखीकरण कक्षा लिन लगाउने निर्णय गरेको थियो । सोही अनुसार हरेक हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा धमला सहभागी भई पत्रकार आचारसंहिताबारे थप जानकारी लिनुभएको हो । काउन्सिलले अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी गर्ने गरेको यस कार्यक्रममा धमलाले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप सहभागिता जनाउनुभएको हो ।

यसअघि पत्रकार धमलालाई प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा काउन्सिलको आचारसंहिता अनुगमन समितिले छलफलको लागि बोलाएको थियो ।

काउन्सिलको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ तारानाथ दाहालले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारकै हितको लागि बनेकाले यस पुर्ण पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने बताउनुभयो ।
पत्रकारिता व्यवसाय नहुने भन्दै उहाँले पत्रकारले लेख्ने सामग्री सार्वजनिक हितको निम्ति हुनुपर्ने, स्वतन्त्रताको सीमा हुने, हरेक पाठकसँग सञ्चारमाध्यमको स्वामित्व हुने उल्लेख गर्नुभयो । दाहालले सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता, समाचारको स्रोत एवं सामाजिक दायित्वबारे जानकारी दिनुहुँदै मानवअधिकारको रक्षार्थ कलम चलाउनु पर्ने धारणा राख्नुभयो ।

काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ गोपाल बुढाथोकीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे प्रकाश पार्नुभयो । उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिनुभयो । निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन/प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्काबारे जानकारी दिइएको भन्दै निर्देशिकाको अध्ययन गरी पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आचारसंहिताको अभिमुखिकरणलाई प्रभावकारी बनाउँदै लगिने र पत्रकारिताको विकासका लागि सबैले यसलाई पालना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।उहाँले नयाँ अनलाइन सूचीकरण गर्दा र आचारसंहिता उल्लंघनका घट्नामा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वासका कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालक/सम्पादकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :