संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘साहित्यिक पत्रकारिताको विकासमा प्रेस काउन्सिल’ पुस्तक सार्वजनिक

सम्झना पौडेल
काठमाडौँ

‘साहित्यिक पत्रकारिताको विकासमा प्रेस काउन्सिल’ नामक पुस्तक आज सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालको सचिवालयमा आयोजित एक समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।

संस्मरणलगायत विभिन्न लेख/सामग्री सङ्लग्न उक्त पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा कार्यवाहक अध्यक्ष बुढाथोकीले पञ्चायतकालमा जनताको आवाज बोल्ने माध्यम साहित्यिक पत्रपत्रिका भएको बताउँदै आफूले पत्रकारिता गर्दाको अनुभूतिबाट साहित्यिक पत्रकारिताको महत्व र चुनौती बुझ्ने अवसर पाएको उल्लेख गर्नुभयो । पत्रपत्रिका वर्गीकरण गर्दा साहित्यिक पत्रिकाको मापदण्ड छुट्टै बनाएको बताउँदै उहाँले साहित्यिक पत्रपत्रिका बाँच्नु भनेको देशको संस्कृति बाँच्नुसरह भएको धारणा राख्नुभयो ।

काउन्सिलका पूर्व सदस्य एवं पुस्तकका सम्पादक चेतनाथ धमलाले साहित्यिक पत्रकारिता गर्नु फलामको चिउरा चपाउनुसरह भएको आफूले अनुभूत गरेको बताउँदै साहित्यिक पत्रिकारिताको अवस्था अझै पनि दयनीय रहेको धारणा राख्नुभयो । उहाँले काउन्सिलमा आफू सदस्य हुँदा साहित्यिक विधामा भए/गरेका कामको चर्चा गर्दै पुस्तक सम्पादनका जटिलता, पुस्तकमा समावेश भएका लेख/रचनाको विषयमा जानकारी दिनुभएको थियो ।

काउन्सिलका सदस्य दीपक पाण्डेले अर्काको आलोचना गर्दा ठुलो हुन्छु भन्ने प्रवृत्ति हावी हुने गरेको बताउँदै यो देश र समाजको लागि घातक हुने विचार राख्नुभयो । उहाँले अन्य विधाजस्तै साहित्यको छुट्टै महत्व भएको चर्चा गर्नुभयो ।

काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले साहित्यिक पत्रकारिताको विकासमा आफूहरूको तर्फबाट कति पनि कञ्जुस्याईँ नरहने स्पष्ट पार्नुभयो । उहाँले काउन्सिलले सरकार र साहित्यिक पत्रकारबिच सम्बन्ध सेतुको रुपमा काम गर्ने उल्लेख गर्नुभयो ।


काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले साहित्यिक पत्रकारिताको विकासका लागि काउन्सिलले प्रदेशस्तरीय, जिल्लास्तरीय सहित विविध कार्यक्रम गर्ने गरेको चर्चा गर्दै पुस्तकमा साहित्यिक पत्रकारिताको कार्यक्रम गर्दा देखेका, भोगेका र अनुभूत गरेका कुराहरू समावेस भएको बताउनुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव मोहन दुवालले साहित्यिक पत्रकारिताको विकासमा काउन्सिलको योगदान अतुलनीय भएको बताउँदै आगामी दिनमा अझ साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँद्धारा सञ्चालित उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत रामशरण बोहरासहित साहित्यकार, साहित्यिक पत्रपत्रिकाका सम्पादक, प्रतिनिधि र काउन्सिलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :