संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

रामेछापमा पत्रकार आचारसंहिता र कोभिड १९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप ।

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ रामेछाप शाखाको संयोजनमा रामेछापमा २०७७ मङ्सिर २९ गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य एवं सञ्चार विज्ञ ईश्वरीप्रसाद ओझाले सञ्चारमाध्यम जोगाउन मिडिया मैत्री नीति बन्नुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता विषयमा अहिले गम्भीर प्रश्न उठिरहेको भन्दै उहाँले पत्रकारलाई आफ्नो जिम्मेवारी बहनका क्रममा धम्की आउने गरेको, त्रास उत्पन्न भइरहेको कुरातर्फ सबै सजग हुनुपर्ने र समाधानका बाटो पहिल्याउनतर्फ लाग्नुपर्ने बताउनुभयो । काउन्सिलले पत्रकारलाई मात्र हैन सरकारी निकायलाई समेत आचारसंहिताप्रतिकूल कार्य गरेबापत पत्राचार गर्ने गरेको भन्दै उहाँले पत्रकारितामा चुनौती सामना गर्न पनि तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल लगायत पत्रकार बद्री नयाँघरे, पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, पत्रकार प्रकाश न्यौपाने, रामचन्द्र वि.क., अनिता थापा मगर, दिपक भट्ट, मिलन विक. र ज्ञानु श्रेष्ठलागयतले पत्रकार आचारसंहिता, पत्रपत्रिका वर्गीकरण एवं कोभिड १९ ले मिडियामा परेको प्रभाव बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतले पेसाअनुसार सबैले मर्यादा पालना गर्नुपर्ने भन्दै सरकारी श्रोतको वितरण सबैलाई समान गर्न खोज्दा राम्रो हुन नसकिएको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष प्रेमबहादुर खड्काले असल र गुणस्तरीय पत्रकारिताको लागि मर्यादित पत्रकारिता सबैको कर्तव्य भएको बताउनुभयो । पञ्चायतकालदेखि गणतन्त्र ल्याउनसम्मका मिडियाले अहम् भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाले पत्रकार तथा सञ्चारमाध्यमका समस्या समाधान गरी जनतालाई सुसूचित गराउने कर्तव्यमा पत्रकार कहिल्यै विमूख हुन नहुने धारणा राख्नुभयो ।

सहभागी पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले पत्रपत्रिका वर्गीकरणमा कुनै भेदभाव नभएको जानकारी दिनुभयो । पत्रकार आचारसंहिता उल्लङ्घन र विज्ञले प्रदान गर्ने भाषा, सम्पादन, मौलिकताबापत अङ्कबाहेक प्रकाशक स्वयम्ले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्डबमोजिम आफ्नो पत्रिकाको अङ्क आफै दिन सक्ने बताउनुभयो । वर्गीकरणमा गलत भएको महसुस भएको छ भने काउन्सिलमा उजुरी दिन सकिने सुझाउदै उहाँले नियमानुसार दर्ता एवं सूचीकरण नभएका वेबपोर्टलहरुबाट आपत्तिजनक सामग्री सम्प्रेषण भएमा अन्य कानुन आकर्षित हुने हुँदा संयमित हुन आग्रह गर्नुभयो । काउन्सिलले अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्रकार तथा त्यस्ता न्यूजपोर्टलको सुरक्षार्थ नै दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको जानकारी कार्यक्रममा दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष विचारसिंह तामाङ, मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, नेपाल पत्रकार महासङ्घ रामेछाप जिल्ला शाखाका पूर्व अध्यक्ष हिमाल ढुंगेल, जिल्ला हुलाक कार्यालय रामेछापका सूचना अधिकारी महेश क्षेष्ठ, कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख निर्मला गुरुङ, सूचना अधिकारी शर्मिला फुयाँल, क्रियाशील पत्रकार महिलाका अध्यक्ष ज्ञानु श्रेष्ठलगायत पत्रकारको उपस्थिति थियो ।
पत्रकार महासङ्घ रामेछाप शाखाका सचिव नवराज क्षेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले पत्रकार आचारसंहिता तथा कोभिड १९ ले मिडियामा परेको प्रभावका सम्बन्धमा प्रस्तुति राख्नु भएको थियो ।

(तस्बिर ः राजन सिंह)

 

प्रतिक्रिया :