संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल म्यान्मार राजधानी न्ये पीतमा !

काठमाडौं/ म्यान्मार प्रेस काउन्सिलको निमन्त्रणामा २०७६ फागुन ६ गते (फेब्रुअरी १८, २०२०) प्रेस काउन्सिल नेपालको ५ सदस्यीय प्रतिनिधिमण्डल राजधानी न्ये पीत पुगेको छ ।

प्रतिनिधिमण्डललाई स्वागतार्थ आयोजित कार्यक्रममा म्यानमार काउन्सिलका अध्यक्ष ९३ बर्षीय अध्यक्ष उ आन च्याइङ्गले भन्नुभयो– ‘छोटो अवधिमा जेजति गर्यौं, मिडियाकै हितमा गर्यौं । तपाईंहरुजस्ता अनुभवी साथीबाट सिकेर अझै धेरै गर्नु छ ।’ नेपाली प्रतिनिधि मण्डलका नेता प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भन्नुभयो– ‘काउन्सिलले प्रेस स्वतन्त्रताको रक्षा गर्दै मर्यादित तथा जिम्मेवार पत्रकारिताको विकासको निम्ति पत्रकार आचारसंहिताको कार्यान्वयन,मिडियाको अभिलेख तथा नियमन, उपचार र सञ्चारसामग्री खरिदमा अनुदान, पत्रकारलाई पुरस्कार तथा सम्मान,पत्रपत्रिकाको वर्गीकरण आदि कार्यहरू गर्दै आएको छ ।’

१. प्रतिनिधिमण्डलले म्यान्मार काउन्सिलका पूर्व अध्यक्षसमेत रहेका सञ्चारमन्त्री डा.पी. मिन्त र सञ्चार सहायकमन्त्री अङ् ला तुनसँग शिष्टाचार भेटघाट तथा छलफल गरेको छ । सो अवसरमा मन्त्रीद्वयले दुई देशका प्रेस काउन्सिलवीचको सम्बन्ध घनिभूत बनाउन आफूहरुले सक्दो मद्दत गर्ने, सन् २०१५ मा स्थापित म्यान्मार काउन्सिललाई थप स्रोतसाधनयुक्त बनाउन बजेटको व्यवस्था गर्नेलगायत प्रतिबद्धता जनाउनुभएको छ । हालै ऐतिहासिक भवनमा म्यानमार काउन्सिलको कार्यालय सारिएको छ । जुन भवनमा नोबेल पुरस्कार बिजेता बंगाली साहित्यकार रबिन्द्रनाथ टैंगोर सन १९२४ मा बस्नुभएको थियो । मणिमानिक्य, जवाहरात, हिरारत्न,तेल, ग्यास, माछा, टिम्बरलगायत म्यान्मारको प्रमुख उत्पादन हुन् । चीन र भारत दुईदेशसँग बर्माको सीमाना जोडिएको छ ।

२. मिति २०७६ फागुन ८ गते तदनानुसार फेब्रुअरी  २०, २०२० मा  प्रमुख निर्वाचन आयुक्त उ ल्हा थिनसंग नेपाली प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त थिनले यसैवर्ष बर्मामा आमचुनाव हुन गइरहेको सन्दर्भमा नेपालबाट चुनावसम्बन्धी आचारसंहिता सिक्न इच्छुक रहेको बताउनुभयो । आमनिर्वाचनको बेला काउन्सिलले आचारसंहिता कसरी लागू गराउन सक्छ ? स्वस्थ, निष्पष, स्वतन्त्र निर्वाचनको निम्ति मिडिया र निर्वाचन आयोगले के, कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? यससम्बन्धी नेपालका अनुभवहरु के–के हुन् ? भन्दै उहाले जिज्ञासा राख्नुभएको थियो। अनुभव आदान–प्रदान तथा त्यसनिम्ति आपसी सहकार्य गर्ने समझदारी भएको छ । कार्यक्रममा म्यानमारको सातवटै राज्यका निर्वाचन आयुक्तहरुको सहभागिता थियो ।

३. २०७६ फागुन  ९ गते शुक्रबार म्यानमारका सेना प्रमुख मिन अङ् लाइँसँग शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले ४–५ पुस्तादेखि बर्मामा बस्दै आएका नेपाली दाजुभाइको नागरिकतासम्बन्धी मुद्धा,उनीहरुको पेशा, व्यवसायको सुरक्षामा चासो व्यक्त गर्नुभएको थियो । दोस्रो विश्वयुद्धताका १४ देखि १९ वर्ष उमेर समूहका नेपाली योद्धाहरुले बर्माको तर्फबाट जापानसँग भिषण लडाइँ लडेका थिए । ती योध्दाको सम्मानमा शहीद स्मारक तथा शालिक निर्माण गरिएको छ ।
सेनापति लाइनले जल,थल, हवाई मार्ग प्रयोग गरेर दुई देशवीचको साँस्कृतिक,परम्परागत, व्यापारिक तथा मिडिया सम्बन्धसमेत विकास गर्न सहयोग पुर्याउने, औद्योगिक व्यापार मेला आयोजना गर्न निःशूल्क स्टल उपलब्ध गराउने बचन दिनुभयो । म्यानमार-नेपाल सिधै जोडिने हवाईसेवा सञ्चालन गर्न निजी क्षेत्रको बायुसेवा कम्पनीसँग आग्रह गरिएको, सामान ढुवानीको लागि कलकत्ता बन्दरगाहसम्म पानीजहाज उपलब्ध गराउने विषयमा उपराष्ट्रपतिलाई आग्रह गरिएको जानकारी पनि दिनुभयो । म्यानमारको संसदमा सेनाको २५ प्रतिशत प्रतिनिधित्व रहेको छ । उपराष्ट्रपति, रक्षामन्त्री, गृहमन्त्री र सीमा सुरक्षा मन्त्री सेनाले खटाउँछ । यसअघि सन् २०१७ डिसेम्बर १०–१५ तारेखमा प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डल म्यानमारको पुरानो राजधानी यांगुन पुग्दा सेनाप्रमुख लाइन त्यही दिन नेपाल काठमाडौं पुग्नुभएको थियो । आगामी मे महिनामा नेपालमा हुने बौद्ध सम्मेलनको अवसर पारेर बर्माबाट उच्चस्तरीय भ्रमण हुनसक्ने बताइएको छ । नेपालभन्दा जनसंख्यामा दोब्बर, क्षेत्रफल चौबर रहेको, बर्मामा ६ लाख सेना छन् । त्यहाँ वाहा, कचिन, करेन, रोहिंग्या लगायत ९ जनजातिका आफ्नै सेना अस्तित्वमा रहेको छ । वाहा सेना शक्तिशाली मानिन्छ । बैठक २ घण्टासम्म चलेको थियो । म्यानमारमा दुई लाख नेपालीको बसोबास रहेको छ । जसमध्ये ८० प्रतिशतले नागरिकता प्राप्त गरेकाछन् ।

४. २०७६ फागुन १० गते शनिबार नेपाली प्रतिनिधिमण्डलले पर्यटन उपमन्त्री उ टिन लाटसँग शिष्टाचार भेट गरेको छ । भ्रमण वर्ष,२०२० को प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रभातफेरी पनि सम्पन्न भएको छ ।

५. प्रतिनिधिमण्डलले नेपालका लागि म्यानमारस्थीत राजदूत भीम उदाससँग शिष्टाचार भेट गरेको छ । यसक्रममा  राजदूत उदासले नेपाल–म्यानमारवीच भाषिक–साँस्कृतिक समानता रहेको, मिडियाको माध्यमबाट दुईदेशवीच सम्बन्ध विस्तार गर्नुपर्ने, दुवै देशका जटिलतालाई कूटनीतिकरुपले समाधान गर्नुपर्ने बताउनुभएको थियो ।
राष्ट्रपतिको अकस्मात भारत भ्रमण परेको कारणले त्यहाँका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री आङ साङ सुकीसँगको भेट अहिलेलाई स्थगित गरिएको छ । सन् २०१९ मा प्रधानमन्त्रीको हैसियतमा सुकी र त्यहाँका राष्ट्रपति नेपाल आउनुथियो भने नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार भ्रमण गर्नुभएको थियो । उच्चस्तरीय तथा मैत्रीपूर्ण भ्रमणले दुईदेशको सम्बन्ध घनिभूत हुँदै गएको छ ।  सुकीले प्रजातन्त्रको लडाइँमा दुई दशक लामो नजरबन्द जीवन बिताउनुभयो । नेतृ सुकीकि आमा म्यानमारको लागि नेपाल र भारत हेर्नेगरी राजदूत भई सन् ६० को दशकमा नेपाल आउँदा सुकी पनि सँगै आएको र दुई बर्ष नेपालमा बसेर बुध्द शिक्षा हासिल गर्नुभएको थियो । उहाँको कान्छो छोराको जन्म नेपालमै भएको हो ।
५ सदस्यीय नेपाली टोलीसङ्ग शुरुदेखि नै म्यान्मार प्रेस काउन्सिलका अध्यक्षसहित ९ जना काउन्सिलर यात्रारत हुनुहुन्छ । नेपाली डेलिगेसनले बर्माका सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुसँग भेटघाट गर्ने, प्रेस स्वतन्त्रताको लागि योगदान गरेका मिडियाको वर्तमान अवस्था, ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको अध्ययन–अवलोकन गर्ने कार्यक्रम छ । यसक्रममा भ्रमण टोली पुरानो राजधानी याङ्गुनबाट ८ सय किलोमीटर लामो सडकमार्ग पार गर्दै नेपाली वस्ती माण्डलेसमेत पुगेको छ ।

प्रतिक्रिया :