संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस कार्ड कीर्ते गर्नेलाई कारबाही गर्न प्रहरीमा पत्राचार

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई शुक्रबार पत्राचार गरेको छ । दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो । गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।

त्यस्तै,  काउन्सिलले एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको भन्दै अंग्रेजी दैनिक द हिमालयनमाथि परेको उजुरीमा विस्तृत अनुसन्धान गर्न एक कार्यदल समेत गठन गरेको छ । काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको हो ।

दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलमाबाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरी सम्बन्धमा कार्यदल गठन भएको काउन्सिलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले यसबारे निर्णय लिएको हो ।

बैठकपछि सहप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा पत्रकार तथा सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, समाचारका सम्बन्धमा सम्बन्धित पक्षको भनाइ एवं प्रतिक्रियालाई स्थान दिनुपर्ने, पेसागत आचरणविपरीत क्रियाकलाप गर्न नहुने पत्रकार आचारसंहितामा प्रष्ट व्यवस्था विपरित काम भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । यस्ता क्रियाकलापबाट सजग रहन सञ्चार माध्यम, आम पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध पक्षलाई  काउन्सिलले चेतावनी समेत दिएको छ । पछिल्लो समय प्रेस काउन्सिलले आचारसंहिता विपरितका विभिन्न गतिविधिमा केन्द्रित मिडिया र पत्रकारमाथि कडा कारबाही र निगरानी गर्दै आएको छ । मिडियाका नाममा चल्ने युट्युबमाथि समेत काउन्सिलले कडाइ गर्दै आएको छ ।

प्रतिक्रिया :