संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

न्यु मिडियाले सञ्चार माध्यमबिच ठुलो वा सानो मिडिया भन्ने भेद मेटाउँदैछः अध्यक्ष बस्नेत

काठमाडौँ १६ असार ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले सञ्चार माध्यमबिचको ठुलो सानो भन्ने भेद नै मेटाउँदै गएको बताउनुभएको छ । काउन्सिलको आयोजना र सञ्चारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले न्यु मिडियाले ठुला सञ्चार माध्यम तथा साना सञ्चार माध्यम भन्ने विभेदलाई अन्त्य गरिदिएको र यसले सबैका लागि अवसर सिर्जना गरेको उल्लेख गर्नुभयो । न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै उहाँले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको बताउनुभयो ।

उहाँले नेपालका सन्दर्भमा परम्परागत भनिने सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत सम्प्रेषणको रणनीति त्यस्ता सञ्चार माध्यमले बनाउनुपर्ने उहाँको भनाइ थियो । ‘हामीले के कसरी काम गर्छौँ, त्यसमा नै निर्भर हुन्छ । हरेक सङ्कटसँगै समाधान र अवसर सँगै आउँछ । हाम्रा सञ्चार माध्यमले विश्वसनीय र छिटो सम्प्रेषणका लागि रणनीति र प्याकेज ल्याउन सके कि सकेनन् त्यो पनि विचारणीय हुन्छ ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार रहेको स्पष्ट पार्नुभएको छ । ‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ । राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाई गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो । बस्नेतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरू पहिलो नियामक निकाय काउन्सिल नै रहेको प्रस्ट्याउनु भयो । काउन्सिल व्यक्तिगत रुपमा सञ्चालित नभइ मिडिया र मिडियाकर्मीका आवरणमा सञ्चालित न्यु मिडियाको व्यवस्थापनका लागि सक्षम रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले न्यु मिडियाले भ्रमपूर्ण प्रचारको बढावालाई प्रोत्साहन गर्दा प्रतिष्ठित र विश्वसनीय सञ्चार माध्यमबाट समेत गलत विषय सम्प्रेषण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालमा सञ्चार माध्यमको विश्वसनीयता र आमधारणाबारे सर्भे गर्न काउन्सिललाई सुझाव दिनुभयो ।

पत्रकार निर्मला शर्माले विगतमा सञ्चार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया सञ्चालक बन्ने वातावरण न्यु मिडियाले बनाएको बताउनुभयो । पत्रकार महिलाका लागि न्यु मिडिया अवसरको राम्रो माध्यम भएको उहाँको भनाइ थियो । उहाँले अहिलेको पत्रकारिताको चुनौती भनेकै सामाजिक सञ्जालबाट फैलिएको सूचनालाई आधिकारिक बनाउनु र छिटो सम्प्रेषण गर्नु रहेको बताउनुभयो ।

यस्तै पत्रकार अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको बताउनुभयो । उहाँले न्यु मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको प्रष्ट पार्दै आफ्नो विषयवस्तु सम्प्रेषणका छापा माध्यमले न्यु मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । पत्रकारिता शिक्षामा व्यवहारिक र समयानुकूल परिवर्तन नहुने हो भने पुरानै पद्दतीमा पत्रकारिता बाँच्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘न्यू मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि पत्रकार दीपा रेग्मी र दुर्गा खनालले टिप्पणी गर्नुभएको थियो ।

प्यानल छलफलमा काउन्सिलका अध्यक्ष, बालकृष्ण बस्नेत, अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता बिन्दु सहभागी हुनुहुन्थ्यो ।

‘हामी पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध छौँ’ भन्ने सामूहिक प्रतिबद्धता जनाएर सुरु भएको कार्यक्रमको पहिलो सत्र सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोला र दोस्रो सत्र न्युज एजेन्सी नेपालका सञ्चालक कृष्णा पौडेलले सहजीकरण गर्नुभएको थियो ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको धन्यवाद मन्तव्य रहेको थियो ।

प्रतिक्रिया :