संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

परराष्ट्र मामिला बिटमा कलम चलाउँदा थप संवेदनशील हुन काउन्सिलको सुझाव: बेग्लै सञ्चार निर्देशिकाको गृहकार्य

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिग् गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ । बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए ।

सोक्रममा सहभागीले यो बिटमा रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखेका थिए ।सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचो समेत औंल्याएका थिए ।

प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताका बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता) सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको औँल्याए ।

परराष्ट्र तथा विदेश मामलाका विषयमा समाचार बनाउँदा धेरै पत्रकार गलत सूचनाको सिकार भएको तथा कुनै देशले अर्को देशका विरुद्ध लेखाउन कोसिस हुने गरेको समेत सुनाए । ‘अहिले कतिपय रिपोर्टर मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको सिकार हुने खतरा बढिरहेको छ ।’ पत्रकार कमलदेव भट्टराईले भन्नुभयो, ‘जसले जस्तो सूचना दिएपनि भेरिफाइ नगरी लेख्दा कुनै मुलुकसँगको सम्बन्ध बिग्रनसक्ने खतरा समेत छ । सूचनाको भेरिफाइ नहुनु वा डकुमेन्टको उचित जाँच नहुनु समस्या देखिएको छ ।’ पत्रकारहरू एकराज पाठक, अनिल गिरी, शरच्चन्द्र भण्डारी, कोषराज कोइराला, राधा खनाल, होम कार्की, चाँदनी हमाल, शिक्षा भट्टराई, दिनेश रेग्मी, रुद्र खड्का, धर्मेन्द्र कर्णलगायतले यस्तो समस्या आउन नदिन काउन्सिलले यस क्षेत्रका रिपोर्टरका लागि विशेष तालिम वा प्रशिक्षण दिनुपर्ने वा सरकारसँग त्यसकिसिमको कार्यक्रमका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।

सरकारका विभिन्न निकायबाट चुस्त दुरुस्त रुपमा सही सूचना नपाउँदा पनि रिपोर्टिङमा समस्या भइरहेको सहभागीले अनुभव सुनाएका थिए । यो बिटमा कार्यरत पत्रकारसँग काउन्सिलले पहिलोपल्ट यस्तो कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निकै संवेदनशील विषयमा बहस र छलफल प्रारम्भ गरिएको उल्लेख गर्दै मन्त्रालयहरू तथा सरकारका तत् तत् निकायसँग पनि आवश्यकताअनुसार छलफल गर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको पत्रकारिता धेरै सङ्घर्षमा रहेको उल्लेख गर्दै उहाँले विदेश मामिलासम्बन्धी रिपोर्टिङले कुनै पनि देशको हितमा ठुलो भूमिका खेल्ने हुँदा काउन्सिलले बिट पत्रकारिताका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको संयोजनमा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै काउन्सिल सदस्य शरद अधिकारीले नेपालको विषयमा अन्तर्राष्ट्रिय समुदायले के चाहन्छ र नेपालको विदेश मामिला रिपोर्टिङ कस्तो छ भन्ने बुझ्न पनि समितिले छलफल कार्यक्रम राखेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै समितिका संयोजक चिरञ्जिवी मास्केले सहभागीहको सुझावअनुसार काउन्सिलले आचारसंहिता तथा निर्देशिकाको बारेमा थप छलफल अघि बढाउने बताउनुभयो । विदेश मामिला सम्बन्धमा रिपोर्टिङ गर्दाका सूचनाको समस्या, तालिम प्रशिक्षणको आवश्यकता तथा सरकार र संवाददाता सम्बन्ध सहज बनाउन काउन्सिलले भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया :