संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारको कार्यक्रममा उद्घाटनको फरक शैलीः आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

भक्तपुर ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्धारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्णपालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौँ’, उद्घाटनका क्रममा सहभागी सबै पत्रकारले भने । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी भएका विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले यस्तो प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताउनुभयाे । ‘पत्रकारलाई गल्ती गर्ने छुट छैन, मानवीय त्रुटिले कहिलेकाहीँ हुने गल्ती तत्काल सच्याउनुपर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ति गरेको छ/छैन, त्यसको अनुगमन र नियमन काउन्सिलले नियमित गरिरहेको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो । पछिल्लो समयमा छापा माध्यमले पनि युट्युब, अनलाइनमा जानु परेको चर्चा गर्दै उहाँले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर नभएको तर जुनसुकै मिडियाले पनि अनिवार्यरुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभयो ।

राज्यले देशभर मिडिया साक्षरता चलाउनुपर्नेमा जोड दिँदै काउन्सिलका अध्यक्ष बस्नेतले भन्नुभयो, ‘डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ, यसका लागि राज्यले बजेट नै छुट्याउनुपर्छ, सीमित स्रोत र साधनले प्रेस काउन्सिलले देशभर मिडिया साक्षरता अभियान चलाएका छौँ, यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ, प्रदेश र स्थानीय सरकारले पनि यस्तो अभियानलाई साथ र सहयोग दिएर अगाडि बढाउनु पर्छ ।’ नागरिकले चलाउने सामाजिक सञ्जाल र पत्रकारले चलाउने मिडियाको फरक के हो भन्ने छुट्याउन सक्नुपर्ने भन्दै बस्नेतले यसका लागि पनि प्रत्येक स्थानीय तहसम्म मिडिया साक्षरता अभियान पुग्नुपर्ने औँल्याउनुभयो । बस्नेतले युट्युबर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै दर्ता भएका मिडियाको अनुगमन गर्ने दायित्व काउन्सिलको भएकाले आचारसंहिता सबेले पालना गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झाले मोबाइलमै युट्युब, अनलाइन मात्रै नभइ अहिले टेलिभिजन पनि हेर्न सकिने चर्चा गर्नुभयो । काउन्सिलले युट्युबसहितका नयाँ मिडियालाई व्यवस्थित ढङ्गले नियमन गर्दै आएको भन्दै झाले अन्य निकायले पनि यो काममा सहजीकरण गर्नुपर्ने बताउनुभयो । ‘अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविष्य सकियो भन्ने होइन, अझै पनि प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुँदै गएको बताउनुभयो । ‘अब फरक ढङ्गले सोच्नु जरुरी छ, छापा माध्यम पनि डिजिलटाइजमा जानु आवश्यक छ, अब पत्रिकाको वितरण प्रणाली पनि प्रविधिबाटै हुनुपर्छ । पत्रिका कति प्रति बिक्री भयो भन्नुभन्दा पनि पत्रिका कम छापेर त्यसलाई अनलाइन पिडिएफमार्फत धेरै भन्दा धेरै पाठक बनाउनतर्फ ध्यान दिनुपर्छ ।’ पोखरेलले भन्नुभयो  ।

पत्रकार उज्वल आचार्यले अध्ययनबाट मिडियाको आयको रुपमा २७ वटा विकल्प रहेको चर्चा गर्दै विद्यमान पत्रकारिताका चुनौतीमा कार्यपत्र राख्नुभएको थियो । सञ्चार माध्यमको आय स्रोत कमजोर बन्दै जाँंदा त्यससँंग सम्बन्धित सरोकारवालाले विज्ञापनको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले विज्ञापनलाई आयआर्जनको मुख्य आधार बनाइराख्दा अव सञ्चार माध्यम बाँच्न नसक्ने अवस्था आएको भन्दै नयाँं आयस्रोतका बारेमा सोधखोज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार तीर्थ कोइराला, अखण्ड भण्डारी, दुर्गा खनाल, गोपाल खनाल, केदारनाथ कोइराला, मोहन बाँस्तोला, रामकला खड्का, कृष्ण किसी, कौशल भट्टराई, रत्न श्रेष्ठ लगायतले अचारसंहिताको पालना र पत्रकारिताको दिगो स्रोतको पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्वागत मन्तव्य राख्दै समग्र भक्तपुरमा सञ्चालनमा रहेका सञ्चार माध्यमको अवस्थाबारे जानकारी दिनुभएको थियो । पहिलो सत्रको सहजीकरण काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलबासे र दोस्रो सत्रको सहजीकरण मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो।

प्रतिक्रिया :