संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्ः अध्यक्ष बस्नेत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालले आज गरेको नियमित अभिमुखीकरणमा बोल्दै उहाँले नयाँ सूचीकृत भएका अनलाइनका सञ्चालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गर्नुभएको हो । अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन/प्रसारण हुने गरेको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभयो । ‘यसै पनि पत्रकारिता हतारकै हुनेगर्छ त्यसमा पनि अनलाइनमा झनै हतार हुन्छ नै । हतार भयो भनेर वा भ्युअर्स बढी आउँछ भनेर समाजलाई हानी गर्ने गलत र आचारसंहिताका सीमाभन्दा बाहिर गएर समाचार लेख्नु हुँदैन । तपाईंहरू पनि सजग रहनुहोस् ।’ उहाँले भन्नुभयो । छापा, अडियो, भिडियो अनलाइन वा जुनसुकै माध्यमबाट गरिने पत्रकारिता स्वस्थ, मर्यादित र विश्वसनीय हुनैपर्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा क्षमताको समुचित सदुपयोग गरेर जिम्मेवार पत्रकारिता गर्न सहभागीलाई आग्रह गर्नुभयो । अनलाइन खोल्दैमा पत्रकारिता नहुने भन्दै अध्यक्ष पोख्रेलले अनलाइनबाट सम्प्रेषित हुने सामग्रीले पत्रकारिताको मान्यताअनुसार काम गरेको हुनुपर्ने प्रष्ट पार्नुभयो । पत्रकारिताको विषयवस्तु निर्माण गर्ने प्रक्रियामा कुनै पनि हस्तक्षेप वा बाधक हुन नहुने प्रष्ट पार्दै उहाँले त्यस्ता विषयवस्तु निर्माण गर्दा आचारसंहिताको अनिवार्य पालना भने हुनुपर्ने बताउनुभयो । काउन्सिलले पत्रकारलाई आचारसंहिता कक्षा लिएर मात्र अनलाइन सञ्चालन गर्न पाइने गरी सुरु गरेको अभिमुखीकरण कक्षा अत्यन्तै उपयुक्त भएको उहाँको भनाइ थियो ।

काउन्सिलले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्ने गरेको छ । हालसम्म करिब १३ अनलाइनका २ हजारभन्दा बढीले यस्तो कक्षा लिएका छन् । शुक्रबारको कक्षामा रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. जगत नेपालले पत्रकार आचारसंहिताका विषयमा र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिता अन्तर्गतका विभिन्न निर्देशिकामा रहेका व्यवस्थाबारे जानकारी दिनुभएको थियो । प्रशिक्षक नेपालले विश्वसनीय मानिएका सञ्चार माध्यम पनि फेक न्युजको सिकार हुने गरेको उदाहरण दिँदै पत्रकारितामा सूचनाको प्रमाणिकरण गर्न जरुरी रहेको बताउनुभयो ।

विभिन्न ३१ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया :