संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

काडमाडौँ।

पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा आयोजना गरेको ३ दिने तालिमको समापनका क्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

काउन्सिलले पहिलो चरणमा बाग्मती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो । विषय विज्ञ वरिष्ठ पत्रकार युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्वसँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरियता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उहाँले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताउनुभयो । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पत्रकारिताको स्वरूप र परिभाषा फेरिएको भन्दै समयको माग अनुसारको पत्रकारिता वर्तमान युगको आवश्यकता भएको बताउनुभयो । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुसरण गर्न सके मात्रै पत्रकारिता पेसामा टिक्न सकिने भन्दै उहाँले काउन्सिलको ३ दिने तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको पर्याप्त ज्ञानबिना अबको पत्रकारिता अघि बढ्न नसक्ने भन्दै काउन्सिलसहितका सरोकारवालाले प्रविधिमैत्री तालिम बढाउँदै लैजानुपर्ने बताउनुभयो । हतारमा राम्रो काम गर्नुपर्ने पेसा भएकाले प्रविधिको सहायताले सघाउ पुग्ने उहाँको भनाइ थियो । ‘केही पत्रकारले आफूले जान्नुपर्ने कुरामा समेत ध्यान नदिएर अन्यत्र पेसा र सुविधामा बढी रुची दिन्छौँ, यसले पनि समस्या ल्याउने गरेको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

काउन्सिलका सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी पौडेलले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पार्नुभयो । मिडिया साक्षरता अहिलेको माग भएको उहाँको भनाइ थियो ।

तालिम समापनका क्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अब समाचारको कुनै डेटलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताउनुभयो । उहाँले पत्रकारीताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्य तथ्य र निष्पक्ष समाचार दिनुपर्ने बताउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पत्रकारितालाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सिप आवश्यक हुने बताउनुभयो । उहाँले मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपालमा पनि रेडियो पत्रकारितालाई अब्बल बनाउन प्रविधिको उच्चतम प्रयोग थालिएको जानकारी दिनुभयो ।

तालिमका क्रममा विषयगत विज्ञहरु नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेवासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया :