संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलको ५३ औँ वार्षिकोत्सव सम्पन्नः नयाँ अनलाइनलाई सूचीकरणपूर्व अभिमुखीकरण महत्वपूर्ण सुरुवात भएको राष्ट्रपतिको भनाइ

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव कार्यक्रम आज राष्ट्रपति भवन शीतल निवासका विशेष समारोह गरी सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रविधिको विकाससँगै सञ्चारका नयाँ माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ । उहाँले विश्वव्यापी चुनौतीका रूपमा रहेका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गर्दै यो महत्वपूर्ण सुरुवात भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले पत्रकारिताको पेसागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले पत्रकार र सञ्चार माध्यमको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सञ्चार तथा सूचना प्रविधमिन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठुलो योगदानको अपेक्षा रहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः रत्न श्रेष्ठ, रासस ।

उहाँले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराउनुभयो । प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभयो । मन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गर्नुभयो ।

तथ्यमा नै शङ्का हुनेगरी समाचार आउँदा विश्वसनीयता नै खलबलियो : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रभित्र विविध समस्या उत्पन्न भएकाले राष्ट्रियताका सवालमा होस् वा देश निर्माणको अन्य अभियानमा सबै राजनीतिक शक्ति गम्भीर र सचेत हुनुपर्नेमा जोड दिनुभयो । उक्त अभियान सफल बनाउन सञ्चार जगत्को महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।

उहाँले मुलुकमा देखिएको नकारात्मक चिन्तनलाई सहमतिको बाटोमा ल्याउन भूमिका खेल्नुपर्ने भएकाले पर्याप्त ध्यान पुर्‍याउन सबै सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । अध्यक्ष बस्नेतले को पत्रकार हो र को होइन भन्ने छुट्याउन गाह्रो भएको तथा निष्पक्षता एवं तथ्यमा नै शङ्का हुने गरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलिएको बताउनुभयो । त्यसैले मिडियालाई बलियो बनाउनका लागि पनि विश्वसनीय पत्रकारिताको खाँचो रहेको उहाँले औँल्याउनुभयो ।

गोपालदास पत्रकारिता पुरस्कारसहित ११ विधामा पुरस्कार प्रदान

प्रेस काउन्सिल नेपालले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरेको छ । यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका माधव भण्डारी (विद्रोही)लाई प्रदान गरेको छ । यसवर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार आवाज एफएम पर्सा (प्रबन्ध निर्देशक – श्याम बञ्जरा) र अन्नपूर्ण पोस्ट दैनिक, काठमाडौँलाई प्रदान गरियो ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार सुरेन्द्र काफ्ले, मोरङ (हाल काठमाडौँ), दिलबहादुर छत्याल, कैलाली, नवराज छत्कुली, धादिङ र बालकृष्ण अधिकारी, काठमाडौँले प्राप्त गर्नुभयो ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार थामी भाषा गोरखापत्र संस्करणका लागि टेकराज थामीलाई, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी (काठमाडौँ), एकराज पाठक (काठमाडौँ),  सुरेश धामी (कञ्चनपुर), श्यामनाथ कुँवर (कास्की), निशा ओली (काठमाडौँ), कृष्ण के.सी. (लमजुङ), भूपराज खडका (खोटाङ) पुस्कर बुढाथोकी (भक्तपुर), मनोज जोशी (तनहुँ, हालः काठमाडौँ) र विमल योगी (विनोद) – दाङलाई प्रदान गरियो ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट मकर श्रेष्ठ (भक्तपुर), हिमाकुमारी चेम्जोङ (धनकुटा), राजेन्द्र धामी (दार्चुला),  टपेन्द्र कार्की (सोलुखुम्बु), जीवन लामा (दोलखा), हरिबोल आचार्य (खोटाङ), शम्भु दङ्गाल (काठमाडौँ), रविन्द्र काफ्ले (पाँचथर), डिबी बुढा (जुम्ला), महेश के.सी (रुकुम), प्रदीप परियार (झापा), दशरथ घिमिरे (दाङ) र केशरराज क्षेत्री (प्यूठान)लाई पुरस्कृत हुनुभयो ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार साहित्यपोष्टकी मायामितु न्यौपानेलाई प्रदान गरियो । प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार बर्दियाकी सरिताश्री ज्ञवाली, ललितपुरकी सञ्चिता घिमिरे, रुपन्देहीकी शारदा गैरे, र सुर्खेतकी रमा के.सी.ले प्राप्त गर्नुभयो ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारतर्फ प्रवीणकुमार शर्मा (रौतहट), अजय गोर्खाली (चितवन) र हेमबहादुर (कमल) राना (स्याङजा) पुरस्कृत हुनुभयो भने प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर (काठमाडौँ), आनन्द श्रेष्ठ (सुनसरी) र जीवनकुमार पराजुली (काठमाडौँ)लाई दिइयो ।

यसवर्षको काउन्सिल वर्ष कर्मचारी पुरस्कार वितरण सम्परीक्षण अधिकृत रहमतुल्हा मियाँ र मिडिया अनुगमनकर्ता लोकराज भट्टले प्राप्त गर्नुभयो भने कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रेस काउन्सिल दीर्घसेवा पदकबाट २० वर्ष सेवाअवधि पूरा गरेका हलुका सवारी चालक श्री देवीबहादुर रानालाई सम्मानित गरिएको छ ।

 

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीका साथ प्रेस काउन्सिल नेपालका पूर्व सदस्यहरु । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।

प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई वर्ष कर्मचारी पुरस्कार प्रदान गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।
प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्यहरु । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।

प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँलाई
वर्ष कर्मचारी पुरस्कार प्रदान गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।
प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा पत्रकार हरिबहादुर थापालाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।

प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा पत्रकार माधव विद्रोहीलाई सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।
प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा हलुका सवारी चालक देवी रानामगरलाई
दीर्घसेवा पदक प्रदान गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः विपुल पाण्डे/प्रेस काउन्सिल नेपाल ।

प्रतिक्रिया :