संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता शिक्षा बढाउन काउन्सिललाई सुझाव

आचारसंहिताबारे पर्याप्त शिक्षा नपुगेर सञ्चारमाध्यममा सही समाचार नआएको भन्दै विज्ञहरुले कारबाहीलाई भन्दा सचेतना कार्यक्रम बढाउन प्रेस काउन्सिल नेपाललाई सुझाएका छन् ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काउन्सिलले आयोजना गरेको दुईदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्तासमेत रहनुभएका पूर्वअध्यक्ष कार्कीले विवाद, गुनासा र समस्यालाई हल गर्दै संस्थाको गरिमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली मिडियाको विकासको बारेमा अध्ययन गर्न सुझाव दिँदै नयाँ मिडियालाई बहिस्कार नगरी परिस्किृत गराउनुपर्नेमा जोड दिनुभयो । पत्रकारितालाई मर्यादित गराउन अनुगमन र कारबाहीमात्र भन्दा पनि आचारसंहिता शिक्षासमेत व्यापक बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले काउन्सिलको भूमिका बृहतक्षेत्रमा बाँडिदा मुख्य आचारसंहिता अनुगमनको काम ओझेलमा पर्दै गएको बताउनुभयो । उहाँले उजुरी र अनुगमनबारे पत्रकारसँगै आम सर्वसाधारणलाई शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले देशैभरका मिडियाको अवस्था र विश्वसनियताबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न सुझाव दिनुभयो ।

यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले स्वतन्त्रता निरपेक्ष हुन नसक्ने भन्दै पत्रकारका गतिबिधिका विषयमा काउन्सिलको आचारसंहितामा समेटिनुपर्ने धारणा राख्नुभयो ।

अधिवक्ता अनन्तराज लुँइटेलले काउन्सिलले प्रेस स्वतन्त्रता, आचारसंहिता पालना र पत्रकारिता जगतलाई जिम्मेवार बनाउन सरकारलाई सुझाव दिनुपर्ने भन्दै पत्रकारको योग्यता जाँचको विषयमा बृहत छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विज्ञापन बोर्डका सदस्य एवं प्रेस सेन्टरका नेता बलराम थापाले प्रेस स्वतन्त्रताको अनुगमन सहज काम नभएको बताउनुभयो । उहाँले विज्ञापन बोर्डको अवधारणा मिडिया मिडिया विकाससँग जोडिएको प्रष्ट पार्नुभयो ।

प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले काउन्सिलले ठुला घटनाहरुमा आचारसंहिता अनुगमनका कामलाई प्रभावकारी बनाउन नसकेको गुनासो गर्नुभयो ।

फोनिजका कोषाध्यक्ष अमरध्वज लामाले अनलाइनको सूचिकरण अनुसार अनुगमन प्रभावकारी गराउन चुनाैती थपिएको बताउनुभयाे ।

प्रेस काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिले सुधारका लागि बोर्ड समिति तयार रहेको भन्दै प्रेस स्वतन्त्रताको संरक्षण काउन्सिलको दायराभित्र रहेको बताउनुभयो ।

काउन्सिलका सदस्य हरिप्रसाद जोशीले धन्यवाद राख्दै विज्ञहरुका सुझावलाई समेट्दै पत्रकारितालाई मर्यादित बनाउनेतर्फ काउन्सिल केन्द्रित हुने बताउनुभयो ।

प्रतिक्रिया :