संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसहिंता र कोभिड १९ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया

मोरङ

प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता र कोरोना महामारी कोभिड–१९ ले मिडियमा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम मोरङ जिल्लाको विराटनगरमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा भएको उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डेले मिडियामा पछिल्लो समयमा पत्रकार आचारसंहिता उल्लघंनको घटना बढेको काउन्सिलको स्वअनुगमनको तथ्य तथ्याङ्कले देखाएको बताउनुभयो ।
उहाँले काउन्सिलले आगामी पाँच वर्षको रणनीति तयार गर्न लागेकाले सहभागी पत्रकारलाई खुलेर मनमा लागेका कुरा छलफल गर्न र राय, सुझाव दिनसमेत आग्रह गर्नुभयो ।

बोर्ड सदस्य पाण्डेले काउन्सिलसँग पत्रकारको अपेक्षा धेरै भएको भए पनि यसभित्र सीमितता रहेको बताउँदै भन्नुभयो पुरानो प्रेस काउन्सिल ऐन,२०४८ मा प्रेस काउन्सिललाई धेरै अधिकार रहेको छैन । पछिल्लो समयमा आचारसंहिता उल्लघंनका घटना बढेका हुनाले काउन्सिलले नयाँ दर्ता हुन आउने मिडिया सञ्चालकलाई आचारसंहिता पढाउन र तालिमको व्यवस्थापन गर्न खोजिएको जानकारी गराउनु भयो । उहाँले विराटनगरमा काउन्सिलको सम्पर्क कार्यालय राख्नेबारे छलफल भइरहेको बताउनुभयो ।

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले भर्खर काउन्सिलमा आएकाले ठुलो आश्वासन दिन नसके पनि छलफलमा उठेका सुझावलाई लिएर सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले पाँच करोडको कोषबाट ६० वर्षमाथिका पत्रकारलाई बिमा र भत्ताको व्यवस्थाका निम्ति सञ्चार सचिवज्यूसँग छलफल गरेको र त्यसका निम्ति काउन्सिल र महासंघ मिलेर दबाब एवं छलफल चलाउनपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार आचारसंहिता पत्रकारको मूलमन्त्र भएकोले यसलाई सिरानीमा राखेर जप्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोशी अनलाइन डटकमका सम्पादक सुविद गुरागाँई, नेपाल पत्रकार महसंघ मोरङ कार्यसमिति सदस्य गोपाल प्रसाद पोख्रेल, फेवा साप्ताहिककी सम्पादक ललिता भट्टराई, मसाल दर्पण डटकमका मुकेशकुमार यादव, रेडियो पूर्वेली आवाजका सशाङक पौडेल, क्राइम अप्रेशनका सम्पादक श्यामसुन्दर सुतिहार, पत्रकार अर्जुनप्रसाद आचार्य, रासस प्रतिनिधि मोहम्मद सदरुल, जनहित न्यूजका सम्पादक सत्यनारायण शर्मा, न्यूपाथीभारा साप्ताहिकका सम्पादक दुर्गा भट्टराई लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ काउन्सिल बोर्ड सदस्यद्वय पाण्डे र बेलबासेले दिनुभएको थियो । पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेत्र प्रसाद अधिकारीले गर्नुभएको थियो । यसैक्रममा काउन्सिलको टोलीले विराटनगरमा पत्रिकाको बजार अनुगमन र प्रेस निरीक्षण समेत गरेको थियो । बजार अनुगमनका क्रममा पत्रिकाको बिक्रीवितरण अस्वभाविक रुपमा घटेको समेत जानकारी गराइएको थियो ।

पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको विकास र कोभिड १९को असरका कारण राष्ट्रिय पत्रिकाहरु बाहेक मोफसलका पत्रिकाहरु आउन छोडेको विराटनगरका स्टेशनरी व्यापारीहरूले बतायका थिए । यस्तैगरी प्रेस निरीक्षणको क्रममा पत्रिका प्रकाशन हुन आउने संख्या धेरै घटेको प्रेस सञ्चालकहरुले जानकारी दिएका थिए ।

सुनसरी

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सुनसरी शाखाको संयोजनमा इटहरीमा पत्रकार आचारसंहिता र कोरोना महामारी कोभिड –१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डेले पछिल्लो समयमा नेपालमा देखापरेका न्यू–मिडियाको विषयमा प्रश्न उठिरहेको र बढीमात्रामा त्यस्ता मिडियाहरूले आचारसंहिताको उल्लंघन गरिरहेको बताउनुभयो । उहाँले न्यू–मिडियाहरुले आचारसंहिता अनुकूुल कार्य गर्न, अक्षरस पालना गर्न नसकिरहेको र आचारसंहिता छापामाध्यमको लागिमात्र विशेषगरी बनाइएका कारण समस्या परेको जिकिर गर्नुभयो ।

बोर्ड सदस्य पाण्डेले कोभिड–१९ का कारण पत्रकारिताजगत मारमा परेको भन्दै पुरानै लयमा कसरी फर्काउन सक्छौँ भन्नेतर्फ ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो । आगामी पाँच वर्षको निम्ति काउन्सिलले रणनीति तयार गर्दै गरेको भन्दै यसका निम्ति कसरी अगाडि बढ्न सकिन्छ भन्ने सन्र्दभमा पनि यो छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो ।

यस्तै गरी काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकारहरूले उठाएका कतिपय प्रश्नहरूले आफूलाई भावुक बनाएको बताउनुभयो । पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले पत्रकारिताजगत विश्वको चौथो अङ्ग भनेर लिखित पनि यसको क्षमता, शक्ति र कार्यका कारण त्यस्तो व्याख्या गरिएको धारणा राख्नु भयो ।

संघीयता आइसकेका कारण सञ्चार रजिष्ट्रार कार्यालय स्थापनाको निम्ति प्रदेश सरकारलाई झक्झक्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले काउन्सिल र सदस्यहरुले पत्रकारहरुको चिन्ता लिइरहेको भन्दै सरकारलाई पूर्वका पत्रकारहरु र मिडियाको समस्याबारे कुरा राख्ने र कार्यान्वयनमा पहल गर्नेमा जोड दिनुभयो । सदस्य बेलबासेले पत्रकार आचारसंहिताबारे कपाल फुलेकाहरुलाई भन्दा पनि सञ्चारक्षेत्र विशेषगरी न्यू–मिडियामा प्रवेश गरेका साथीहरूलाई सिकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वी हटलाइन दैनिकका सालिकराम पाण्डे, प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, फलैचाँ न्यूज डटकमकी संवाददाता विमला तिमिल्सिना, पत्रकार सन्तोष यादव, पूर्वी हटलाइनका सम्पादक राजन केसी, वरिष्ठ पत्रकार तथा सप्तकोशी एफएमका सञ्चालक लिला भट्टराई, नेपाल टेलिभिजन इटहरी संवाददाता उषाकिरण घिमिरे लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ काउन्सिल सदस्यद्वय पाण्डे र बेलबासेले दिनु भएकको थियो । नेपाल पत्रकार महासंघ सुनसरीका शाखा अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धुव्र ढकालले गर्नु भएको थियो ।

यसैक्रममा काउन्सिलको टोलीले इटहरीमा पत्रिकाको बजार अनुगमन र प्रेस निरीक्षण समेत गरेको थियो । बजार अनुगमनका क्रममा पत्रिकाको बिक्रीवितरण अस्वाभाविक रुपमा घटेको समेत व्यापारीहरुले जानकारी गराएका थिए ।

पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको विकास र कोभिड–१९को असरका कारण राष्ट्रिय पत्रिकाहरु बाहेक मोफसलका पत्रिकाहरू आउन छोडेको सुनसरीका स्टेशनरी व्यापारीहरुले बताएका थिए । यस्तैगरी प्रेस निरीक्षणको क्रममा पत्रिका प्रकाशन हुन आउने संख्या धेरै घटेको प्रेस सञ्चालकहरूले जानकारी दिएका थिए ।

तेह्रथुम

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ तेह्रथुमको संयोजनमा पत्रकार आचारसंहिता र कोरोना महामारी कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम म्याङ्गलुङ्गमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्नुहुँदै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले सामान्य आफ्नो शरीरको पनि आचारसंहिता हुने भएकाले ठुला क्षेत्रमा काम गर्दा आचारसंहिताको आवश्यकता झनै पर्ने बताउनुभयो । पत्रकारितमा अनुशासन हुने बताउँदै सदस्य बेलबासेले काम गर्दै जाँदा आचारसंहिता पनि नयाँ सिर्जना हुँदै जाने भएकाले नयाँ आएका साथीहरुलाई आचारसंहिताको बारे सिकाउन पाए पूर्वको यात्रा सफल हुने विश्वास गर्नुभयो । बोर्ड सदस्य बेलबासेले काउन्सिल मुलुकभरको मिडियाको आचारसंहिता अनुगमन गर्ने र सिकाउने निकाय भएकाले यसले सञ्चार उद्यम गर्ने मालिकहरुलाई पनि नियमन गर्न नछाडेको जानकारी गराउनुभयो ।

उहाँले काउन्सिल एक न्यायिक निकाय भएकाले सञ्चार क्षेत्र र सञ्चारसँग सम्बन्धित मुद्दाहरु आउने गरेको र यसले सम्बन्धित क्षेत्रको नियमन समेत गर्ने गरेको बताउनुभयो । आफूहरु कानुनको भाषा पढाउन भन्दा पनि मिडिया र सञ्चारकर्मीको गुनासा समस्या के छ ? बुझ्न र सम्बन्धित निकायमा पु¥याउने गरी यात्रामा निस्किएको उहाँको भनाइ थियो ।

पत्रकार साथीहरूको सक्रियता रहेको तेह्रथुममा पत्रिका टिक्न नसकेर बन्द भएको सुन्दा दुःख लागेको बताउँदै यसको पुनः प्रकाशनको निम्ति सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनु भयो । पत्रकारिता भनेको अक्षरहरुको बालुवा चाल्ने काम भएकाले यसमा भएका दुःखकष्ट समस्यालाई जस्ताको तस्तै प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

सदस्य दीपक पाण्डेले मुलुक नै समस्यामा रहेको र यही मुलुकमा रहेका मिडियाहरूमा र मिडियाभित्र झनै समस्या रहेको बताउनुभयो । शैक्षिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको तेह्रथुममा छापामाध्यमको दयनीय अवस्था देख्दा दुःख लागेको बताउनुभयो । उहाँले कानुनमा भएका केही छिद्राहरुलाई लिएर फेसबुक तथा युट्युबहरुले फाइदा उठाइरहेको भन्दै त्यसलाई पनि कानुनी दायरामा ल्याउने अधिकतम प्रयास भइरहेको जानकारी दिनुभयो ।

काउन्सिलले मिडियाको विषयवस्तु मात्र हेर्ने र आवश्यक परेको ठाउँमा पत्रकारलाई सामग्री खरिद र उपचारको निम्ति आर्थिक सहयोग पनि गर्ने गरेको बताउँदै तेह्रथुममा बजेको रेडियोको अनुगमन पनि काठमाडौँबाट नै हुने खुलस्त पार्नुभयो । सदस्य पाण्डेले जहाँ स्वतन्त्र मिडियाको विकास हुँदैन त्यहाँ समस्या सिर्जना हुनसक्ने भन्दै मिडियाले आलोचनात्मक ढंगले नलेखेसम्म सच्चिने र सुध्रिने मौका नपाउने कुराको चर्चा गर्नु भयो । उहाँले पत्रकारले अभाव भयो भन्दैमा जोसँग पायो त्यहीसँग हात थाप्दै हिँड्नु गलत हुनेहुनाले हामी दुनियाको बारेमा समस्या लेख्दा आफू कस्तो हुँ भन्ने कुरामा हेक्का राख्नुपर्ने र समाजलाई सही दिशामा हिँडाउन सही पत्रकारिताको खाँचो रहेको बताउनुभयो ।

म्याङ्गलुङ्ग नगरपालिका प्रमुख संजयकुमार तुम्बाहाम्फेले कस्ता व्यक्तिलाई पत्रकार सदस्यता दिने हो, कस्तो व्यक्तिलाई पत्रकार भन्ने हो, यसमा आफू स्पष्ट नभएको बताउनुभयो । उहाँले व्यापारी, ठेकेदार र शिक्षकले समेत सदस्यता लिएको र पत्रकार हुँ भन्दै हिँडेको देख्दा दुःख लागेको बताउनुभयो । सच्चा पत्रकारिता गर्ने व्यक्तिले कसैलाई धम्काउन नपर्ने भन्दै निष्ठा र इमान्दरपूर्वक पत्रकारितामा लाग्नेको भविष्य उज्वल रहेको जिकिर गर्नुभयो ।

उहाँले तेह्रथुममा कोभिडका कारण पत्रकारहरूलाई एक छाक खान पनि समस्या भएको देखेको बताउँदै आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले हामी कति बजे, सुत्ने, उठ्ने कति बजे खाने ? जस्ता व्यक्तिको आहारविहारदेखि लिएर आचारसंहिता सुरु भएजस्तै हरेक क्षेत्रमा आफ्नै किसिमको आचारसंहिता रहने बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश नं १ उपाध्यक्ष लबदेब ढुङगानाले प्रेस काउन्सिल र प्रदेश नं १ महासंघसँगै सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ का ३ वटा जिल्लामा महासंघको भवन नभएको कारण यसतर्फ अग्रसर हुुने र भवन बनाएर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मोफसलका मिडिया हाउसमा न्यूनतम पारिश्रमिक लागु नभएको भन्दै स्थानीय सूचना स्थानीय मिडियालाई दिनेगरी दबाब दिन आग्रह समेत गर्नुभयो । नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार लिम्बुले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष ठाकुर सुब्बा सेन्याहाङले गर्नु भएकोथियो । कार्यक्रमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव निरीक्षक श्रीगौतम थापा, जिल्ला अनुसन्धान विभागका श्याम चौधरी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उदब पोख्रेल, प्रदेश सदस्य लिला सुनार लगायतको उपस्थिति रहेको थियो ।

यसैक्रममा काउन्सिलको टोलीले तेह्रथुममा पत्रिकाको बजार अनुगमन र प्रेस निरीक्षण समेत गरेको थियो । बजार अनुगमनको क्रममा तेह्रथुममा कुनै पनि छापा माध्यम प्रकाशन नहुने र भएको एउटा पनि कोभिडका कारण बन्द भएको त्यहाँका पत्रकारहरुले जानकारी दिनुभयो । तेह्रथुममा रेडियो अनलाइनजस्ता सञ्चारमाध्यममात्र सञ्चालनमा रहेको काउन्सिलको टोलीले जानकारी पायो ।

प्रतिक्रिया :