संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारिताका विद्यार्थीसँग आचारसंहितासम्बन्धी अन्तरक्रिया

२०७६ फागुन २१
काठमाडौँ

पत्रकारिता तथा आमसञ्चार विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपाल र ब्रुकलिन कलेजका विद्यार्थी बिच भएको उक्त कार्यक्रममा काउन्सिलका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले पत्रकार आचारसंहिता (Code of Conducts) र नैतिकता (Code of Ethics) बिच केही भिन्नता भएको बताउनुभयो । उहाँले पत्रकारले नैतिकता (Ethics) को पालना नगर्दा समाचारको हत्या हुनसक्ने बताउनुभयो ।

सह–प्रशासकीय अधिकृत खनालले पत्रकार र पत्रकारिताका विद्यार्थीले नैतिकसंहिता(Code of Ethics), आचारसंहिता(Code of Conduct), पत्रकार प्रतिवद्धता (Creed of Journalist) र मिडिया कानुन (Media Law) लाई सधैँ ध्यानमा राख्नुपर्ने बताउँदै पत्रकारिता पेशामा प्रवेश गर्दा पत्रकारले प्रतिवद्धतासहित आचारसंहिताको सपथ खानुपर्नेमा जोड दिनुभयो ।

फरक सन्दर्भमा सह–प्रशासकीय अधिकृत खनालले धेरैजसो कलेजमा छात्रको तुलनामा छात्राहरूले बढी पत्रकारिता पढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता पढेर पत्रकार, शिक्षक, अनुसन्धानकर्ता, प्रेस सल्लाहकार, सञ्चार अधिकृत, लेखक, जनसम्पर्क अधिकृत, विज्ञापन व्यवसायी आदि हुन सकिने भएकाले यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाव दिनुभयो ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र अधिकार एवं प्रेस काउन्सिलको गठन प्रक्रिया र संरचना, पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराउनुुभयो ।

उहाँले दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको सङ्ख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो, कारबाही प्रक्रियाका साथै स्व–अनुगमनबारे जानकारी दिनुभयो । काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्मको अभ्यास गर्ने गरेको उहाँले बताउनुभयो ।

सूचना प्रविधि/अभिलेख/आचारसंहिता अनुगमन (विद्युतीय) का प्रमुख समेत रहेका उप–प्रशासकीय अधिकृत बोहराले काउन्सिलको मुख्य काम पत्रकारको नीति–नियम बनाउने, पत्रकार आचारसंहिता जारी गर्ने, पत्रकारिताको विकासको निम्ति सरकारलाई आवश्यक सल्लाह दिने भएको बताउनुभयो । उहाँले पत्रकारले बारम्बार गल्ति गरेमा प्रेस पास निलम्बन गर्ने, कालोसूचिमा राख्ने, सरकारबाट पाउने सुविधा रोक्ने लगायतका कारबाही हुने जानकारी दिनुभयो ।

कार्यक्रमको अन्त्यमा ईश्वरी कार्की, सोनु राई, राधिका पाण्डे, पूजा गिरी, अमृत घिमिरे लगायतका विद्यार्थीले राखेका जिज्ञासाहरूको जवाफ सह–प्रशासकीय अधिकृत खनाल र उप–प्रशासकीय अधिकृत बोहराले दिनुभयो ।

प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रममा ब्रुकलिन कलेजका शिक्षकसहित २८ जनाको सहभागिता थियो ।

समाचार: सम्झना पौडेल
तस्बिर: महेन्द्र राज सिंह/विपुल पाण्डे

प्रतिक्रिया :